काठमाडौं, माघ १९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गरेको छ । निगमले वाइडबडी र न्यारोबडी जहाजको किस्ताबापतको एक अर्ब एक करोड ४१ लाख ३ सय ९३ रुपैयाँ भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले दुई वाइडबडी जहाजको किस्ता रकमबापत ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० रुपैयाँ र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ रकम भुक्तानी गरेको हो । निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन÷तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याएको थियो । निगमले दुवै कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले २० अर्ब रुपैयाँ ऋण लिएको थियो ।