काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका गुठीको सम्पत्तिको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न गुठी संस्थानका पदाधिकारीहरूलाई निर्देशन दिएकी छिन् । गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलबार संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिँदै उनले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावनाअनुरूप परिणाम देखिने गरी काम गर्न निर्देशन दिएकी हुन् ।
गुठीसम्बन्धी धेरै गुनासाहरू रहेको भन्दै उनले ती गुनासाहरू अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पत्तिबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पत्तिको संरक्षण गर्न तत्कालीन र दीर्घकालीन रूपमा समस्या समाधान गर्नेगरी कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गरिन् । ‘मन्त्रालय र म व्यक्तिगततर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौँ, हाम्रो साथ र सहयोग सधैँ रहिरहनेछ’, उनले भनिन् ।
देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्ने भन्दै उनले देशभर रहेका गुठीको जग्गाको यकिन तथ्यांक संकलन गर्न पनि निर्देशन दिइन् । संविधानले नै गुठीको सम्पत्ति संरक्षणको विषय सुनिश्चित गरेकाले त्यसअनुसार छिटो समस्या समाधान गर्नेगरी संस्थानले आफ्ना कामहरूलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन् ।