काठमाडौं । ग्लोबल आईएमई बैंकले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापीरूपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने क्रममा सोमबार बुटवलमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकका अनुसार बुटवलको देवीनगर तथा मोतीपुर शाखाले संयुक्तरूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा दुई सय २० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो ।
बैंकका अनुसार कार्यक्रममा ग्राहकहरूलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरूको प्रयोग कसरी गर्ने र उक्त सेवाहरूको प्रयोगबाट दैनिक गतिविधिहरू कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण समेत गरिएको थियो । उक्त कार्यक्रमस्थलबाटै अधिकांश ग्राहकहरूले मिस्डकल बैंकिङको माध्यमबाट तुरुन्तै आफ्नो खाताको रकम चेक गर्ने तथा मोबाइल रिचार्ज गर्नेजस्ता कार्यहरू प्रयोगात्मक रूपमै गरेका थिए ।
बैंकले उक्त अभियानका माध्यमबाट प्रदेश हुँदै स्थानीय तहसम्मै डिजिटल वित्तीय सचेतना वृद्धि गर्ने तथा ग्राहकहरूको वित्तीय पहुँच समेत विस्तार गर्ने उद्देश्य लिएको जानकारी दिएको छ । अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने अभियान सञ्चालन गरिहेको जानकारी दिएको छ ।