काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियामा स्टार्टअप इकोसिस्टमलाई बढवा दिन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताए । यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको उनको भनाइ थियो । यस्तै उनले दक्षिण एसियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरूलाई अनुकूल वातावरण समेत रहेको बताए । ‘विशेषगरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरूको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ’, उनले भने ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरू र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेषगरी महिला र युवाहरूलाई महासंघले सहयोग गरेको बताए ।