काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच सम्झौता भएको छ । बैंकका अनुसार ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को क्रमसंख्या १ देखि २२, ०७, १०८ सम्म अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२ लाख सात हजार एक सय आठ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकोे हो । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका छन् ।
बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आह्वान गरी मिति २०७८/०४/३१ मा बाँडफाँट गरेको थियो । सूचीकृत ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को दोस्रो बजारको कारोबार भोलि मिति २०७८/०८/१६ देखिबाट नेप्सेमा सुरु हुनेछ ।
सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका डिबेन्चरवालाहरूको लगत अद्यावधिक गरी राख्नेलगायतका रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको हो ।
सन् १९८४ मा स्थापित बैंकले हाल एक सय ३५ शाखा, एक सय ८८ एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।