काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबारदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिँदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो । जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्काे आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ ।
त्यस्ता यात्रुले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रासम्बन्धी आदेश, २०७८ बमोजिमका अन्य कुरा पालना गर्नुपर्नेछ । सङ्क्रमण विस्तार भइरहेको सन्दर्भमा नेपालमा पनि सम्भावित सङ्क्रमण पहिचान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोजिटिभ देखिएका यात्रुमध्येको यात्राको विवरण भएको व्यक्तिको नमूना सङ्कलन गरी जीन सिक्वेसिङका लागि आवश्यक व्यवस्था मिलाउने र जीन सिक्वेन्सिङद्वारा परीक्षण गर्ने मौजुदा क्षमता बढाउनेछ ।