एडिन मुरे, माघ १९
धेरै मानिसलाई राम्रो तलबवाला काम चटक्क छोडेर आफ्नै नयाँ व्यवसाय सुरु गर्नु कठिन हुनसक्छ तर डेनिश उद्यमी मेट लिक भने उफ्रेर नयाँ व्यवसाय रोज्छिन् । उनले दुईपटक यसो गरिसकेकी छिन् । सन् २००७ मा उनी मेनेजमेन्ट कन्सल्टेन्सी फर्म म्याककिन्सेमा काम गरिरहेकी थिइन् । त्यत्तिकैमा उनलाई अब काम परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो ।
‘(सायद)म कुनै वास्तविक प्रभाव पर्ने सोचलाई लत्याइरहेकी थिएँ’, काम परिवर्तनको सोच आउँदै गर्दाको क्षण सम्झिन्छिन् मेट । उनी न्युयोर्कमा थिइन् । सोही बखत जीवनलाई नयाँ मोड दिने स्थिति आयो । एक अञ्जान महिला उनको नजिक आइन् र हातमा एउटा पोस्टकार्ड थमाइदिइन् । ‘हामीले देख्ने ठूला सपनाहरुको सतहसम्म मात्रै पुग्न सकिन्छ’, कार्डमा लेखिएको थियो ।
‘यो एकदमै राम्रो संकेत थियो’, ३८ वर्षीया मेट पुरानो दिन सम्झिन्छिन्, ‘म रातो बत्ती बलेको कारण सडकमा उभिइरहेको थिएँ, उनले मलाई पोष्टकार्ड थमाइन् र सुरुसुरु आफ्नो बाटो लागिन् ।’ त्यसपछि मेटले यसलाई गम्भीर मनन गर्दै यसकै अनुशरण गर्ने निर्णय गरिन् । आफ्नो अफिसका सहकर्मी साथीहरु क्रिष्टिन बर्क र ज्याकोब जोन्कसँग व्यक्तिगत तालिम दिने एप ‘एन्डोमोन्डो’ ल्याउन साझेदारी गरिन् ।
‘मैले जसरी पनि गरेको हुनसक्छु’, उनी भन्छिन्, ‘तर त्यतिबेला यो कुनै संयोग जस्तो लाग्दैनथ्यो ।’ तर कोपनहेगनमा जन्मिएको यो विचार सफल बनाउने कुनै माध्यम थिएन । त्यतिबेला अर्थात् आजभन्दा १३ वर्षअघि धेरै फोनहरुमा जीपीएस हुँदैनथ्यो । एन्डोमोन्डो लन्चपछिका सुरुवाती दिनहरु खल्ला भए । कसैले साइन अप गरेनन् ।
कठिन अवस्थामा कसरी तयार रहने भन्ने कुरा मेटले सानैदेखि सिकेकी थिइन् । उनी पश्चिम डेनमार्कको सानो सहर जुटल्यान्डस्थित रिंगकोबिंगमा हुर्किएकी थिइन् । त्यतिबेला उनको परिवारले काष्ठसामग्रीको व्यवसाय गथ्र्यो । ‘मैले हुर्किने क्रममा व्यवसायको उतारचढाव देखेकै थिएँ’, उनी भन्छिन् ।
एउटा उद्यमी जहिले पनि आशावादी हुने उल्लेख गर्दै उनी भन्छिन्, ‘हामीले सधैँ अर्को महिनाचाहिँ फरक हुने आशामा काम गरिरह्यौँ ।’ सन् २००८ मा एप्पलले एप स्टोर ल्यायो र स्मार्टफोनहरुको बिक्री पनि ह्वात्तै बढ्यो । तर पनि उनको कम्पनीले संघर्ष नै गरिरह्यो । एन्डोमोन्डोलाई पहिलो नाफा पाउन ६ वर्ष पर्खिनुपरेको उनी बताउँछिन् ।
सन् २०१५ सम्म आइपुग्दा उक्त एप चलाउने संख्या २ करोड हुनपुग्यो । यसले अमेरिकी स्पोर्ट्सवेयर कम्पनी अन्डर आर्मरको ध्यान तान्यो । ‘उनीहरु विशेषगरी युरोपमा ब्रान्ड अवेरनेस(सचेतना) बढाउन चाहन्थे’, मेट भन्छिन्, ‘त्यसलाई हामी मद्दत गर्नसक्थ्यौँ किनकि हाम्रो धेरै प्रयोगकर्ता त्यहीँ थिए ।’
अमेरिकी कम्पनीले एन्डोमोन्डोलाई ८ करोड ५० लाख डलरमा किन्यो । उनी त्यतिबेला ३३ वर्षकी थिइन् । त्यसपछि उनी र उनका दुई साथीहरु तत्कालै करोडपति बनिहाले । ‘आफूले स्थापना गरेको व्यवसाय बेच्नु साँच्चै अनौठो थियो’, उनी भन्छिन्, ‘व्यावसायिक रुपले भन्ने हो भने यो आफैँमा ठूलो सफलता थियो र म त्यो निर्णयबाट खुसी नै थिएँ ।’
तर व्यक्तिगत रुपमा भने आफूले हुर्काएको व्यवसाय बिक्री गर्दा मेटलाई अप्ठ्यारो लागिरहेको थियो । उक्त बिक्रीपछि पनि उनले एन्डोमोन्डो र यसको नयाँ कम्पनी छाडिनन् । टेक्सास र कोपनहेगन दुवैतिर कम्पनीको व्यवस्थापनमै बसिन् । सन् २०१६ को अगस्टमा कोपनहेगनबाहिर बसमा उनलाई एउटा अवसर प्राप्त भयो । उनले आफ्नो अर्को मिसन तय गरिन् । त्यो थियो – खानेकुरा खेर नफाल्ने । सँगैको एउटा पेसेन्जरसँग उनी च्याट गर्न थालिन् । तिनै पेसेन्जरले उनलाई एउटा एप देखाए – टू गुड टु गो ।
त्यतिबेलासम्म उनलाई समाजमा फुड वेस्ट (खानाको फोहोर) ठूलो समस्याजस्तो लाग्दैनथ्यो । तर जब जब उनी यसबारे अनुसन्धान गर्दै गइन्, पढ्दै गइन् र यसले जलवायुमा पार्ने प्रभावबारे जानकार भइन् । यो उनका लागि निकै चाखलाग्दो विषय बन्यो । त्यसको केही महिनाअघि नै पाँच जना भर्खरका डेनिस उद्यमीले उक्त अनलाइन बजार सुरु गरिसकेका थिए । रेष्टुराँ र पसलहरुले बचे/रहेका खानेकुरा संग्रहका लागि समय दिन्थे ।
यसो गर्दा मानिसहरु छुट मूल्यमै एपको माध्यमबाट ती खानेकुरा किन्न सक्थे । यसले बढी भएका यस्ता खानेकुरा खेर जान पाउँदैनथे भने ती खानेकुरा बिक्रीबाट कम्पनीलाई पनि रकम जोहो हुन्थ्यो । ‘मुख्य कुरा के हो भने हामी समाजका यस्ता धेरै ठूला समस्या समाधान पनि गर्नसक्छौँ र सबैलाई फाइदा पुर्याउनसक्छौँ’, मेट भन्छिन्, ‘यो मेरा लागि साँच्चै शक्तिशाली लाग्यो ।’
धेरै महिनापछि उनले ‘अन्डर आर्मर’ छाडिन् र ‘टू गुड टु गो’मा प्रमुख कार्यकारी भएर काम सुरु गरिन् । ‘मलाई योगदान गर्न सक्दिन जस्तो लागेको थियो भने म यसमा सायद आउँदिनथेँ कि !’, उनी भन्छिन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार विश्वको एक तिहाइ खानेकुरा खेर जाने गर्छ । देशहरुसँगै दाँज्ने हो भने कार्बनडाइअक्साइड उत्पादन हुने क्षेत्रमा फुड वेस्ट तेस्रो हो । त्योभन्दा अघि चीन र अमेरिका पर्छन् ।
पछिल्ला वर्षहरुमा धेरै कम्पनीले यसलाई रोक्ने प्रयास गरेका छन् । ओलियो, फुडक्लाउड र कर्माजस्ता कम्पनीहरु यसमा पर्छन् । खानेकुरासम्बन्धी रिसर्च समूह आईजीडीका एलन हेयसका अनुसार यी एपहरुले फुड वेस्टसम्बन्धी सचेतना फैलाउन मद्दत गरिरहेका छन् । टू गुड टु गो एपले विशेषगरी खेर जानसक्ने खानेकुरा बिक्रीलाई प्रवद्र्धन गरिरहेको छ । यस्ता खानेकुरा छुट रकममा साँझपख किन्न सकिन्छ ।
मेटको यस्तो अनौठो व्यवसाय अहिले विस्तारकै क्रममा छ । कम्पनीले ४ सय ५० जनालाई रोजगारी दिएको छ भने १३ युरोपेली देशमा यसले काम गरिरहेको छ । अब छिट्टै स्विडेनमा पनि विस्तारको क्रममा छ । ‘एन्डोमोन्डोले पहिलो १० लाख प्रयोगकर्ता पाउन तीन वर्ष कुर्नुप-यो भने टू गुड टु गोले १५ महिनामै १० लाख प्रयोगकर्ता पायो’, उनी भन्छिन्, ‘अहिले समय फरक छ र प्रविधि तयार छ ।’
मेटका अनुसार यो युरोपको धेरै छिटो प्रभाव जमाउने एपमध्ये एक हो । यसका अहिले १ करोड ८० लाख प्रयोगकर्ता छन् भने दिनहुँजसो ४५ हजारका दरमा वृद्धि हुनेक्रम बढिरहेको छ । यसमा विशेषगरी छुट खोज्ने विद्यार्थीदेखि वातावरणप्रति सचेत परिवार, ५० कटेका महिला नै मुख्य ग्राहक हुने गरेका छन् । त्यस्तै कम्पनीले ३० हजार खाद्य आपूर्तिकर्ताहरु यो सुशीदेखि एकर होटलसम्मलाई सम्पर्क गर्ने गरेको छ ।
मेट यसलाई सामाजिक प्रभाव पार्ने कम्पनीका रुपमा वर्णन गर्छिन् । ‘हामीले कमाउने युरो असल कामका लागि हो’, उनी भन्छिन् । कम्पनीले नाफा आर्जनलाई पनि ध्यान दिएको उनको भनाइ छ । तर कहिले ? यसको लागि समय नतोकिएको उनी बताउँछिन् । हाल सबै आम्दानी व्यवसायमै लगानी भएको र कम्पनी विकास र विस्तार हुँदै गइरहेको र त्यसैलाई आफूहरुले ध्यान दिएको उनी बताउँछिन् । हाल यो कम्पनी हाँक्ने टोलीले २५ मिलियन खानेकुरा बचाउन मद्दत गरिसकेको छ । मेट यसलाई सुरुवात मात्रै मान्छिन् । आगामी ५ वर्षमा कम्पनीले एक अर्ब खानेकुरा बचत हुने उनको भनाइ छ । (बीबीसी न्युजबाट अनुदित)