काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदरमा सात वर्षका लागि ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले मंसिर १६ गते बिहीबारबाट प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रको बिक्री खुला भएको हो ।
बैंकका अनुसार सोमध्ये ४० करोड रुपैयाँबराबरको चार लाख कित्ता सर्वसाधारणहरूलाई बिक्री गरिनेछ (जसमध्ये पाँँच प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ) भने बाँकी ६० करोड रुपैयाँबराबरको छ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । गरिमा डिबेन्चर २०८५ को आवेदन खुला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस एक गतेसम्म हुनेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रवर्द्धकको रूपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।