काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कुनै पनि डेपुटी गभर्नरलाई कार्यवाहक नदिई एक हप्ता सुटुक्क विदेश गएको थाहा भएको छ । राष्ट्र बैंकको नियमअनुसार दुई दिनभन्दा बढी विदेश भ्रमणमा जाँँदा दुई जना डेपुटी गभर्नरहरुमध्ये वरिष्ठताका आधारमा कार्यवाहक जिम्मेवारी दिइने व्यवस्था छ ।
‘तर योपटक गभर्नर अधिकारी यी सबै व्यवस्थालाई उल्लंघन गरी एक हप्ता सुटुक्क विदेश बसेर आउनुुभयो’, स्रोतले भन्यो । स्रोतका अनुुसार गभर्नर अधिकारी गत आइतबार एक हप्ताको लागि भारत भ्रमणमा गई मंसिर १८ गते शनिबार ११ बजे स्वदेश फर्किएका हुुन् । तर गभर्नरको भारत भ्रमणको विषयमा राष्ट्र बैंकको उक्त व्यवस्थापन समेत बेखबर रहेको स्रोतले भनेको छ । सो विषयमा राष्ट्र बैंकको उच्च अधिकारीले भने बाहिर हल्ला भएजस्तो गभर्नर अधिकारी सुटुक्क भारत गएको नभएको बताएको छ । ‘गभर्नर अधिकारी राष्ट्र बैंकलाई जानकारी दिएर विदेश जानुभएको हो, यसको जानकारी उहाँले मन्त्रालयमा पनि दिनुभएको हुनसक्छ’, ती अधिकारीले भने ।
‘जहाँसम्म कार्यवाहक जिम्मेवारी सुम्पिने कुरा छ, छोटो समयको लागि गएको हुँदा कार्यवाहक जिम्मेवारी कसैलाई नदिइएको हुनसक्छ’, ती अधिकारीले भने ।