काठमाडौं । पेयपदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षिक सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
कोका–कोला र नेपाल आइडलबीच सहकार्यसम्बन्धी हस्ताक्षर कार्यक्रममा बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोस्रो वार्षिक सहकार्य भएको जानकारी दिए । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन्–झन् मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमाञ्चक र उत्साहपूर्ण हुँदै गइरहेको उनको भनाइ छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने प्ल्याटफर्ममा जोडिन पाउँदा अत्यन्त खुसी लागेको उनले बताए ।
यस्तै नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हर्षित रहेको बताए । कोका–कोला सधैँ संगीतसँग जोडिँदै आइरहेकोले नेपाल आइडल र कोकको यो सहकार्य पनि रिफ्रेसिङ रहेको उनको भनाइ छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जितेकी थिइन् । नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदै छ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो । यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।