काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको छ ।विगत छ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति प्राप्त गरेको हो । खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (आईकाओ) एनएक्स–१८ तथा डीओसी ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् नागरिक उड्डयन प्राधिकरणले निगमका ए–३२० र ए–३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सोमबार प्रदान गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा मन्त्री प्रेमबहादुर आलेले निगमले प्राप्त गरेको प्रमाणपत्र उच्चतम कार्यको प्रतिफल र सह्राहनीय कार्य भएको उल्लेख गर्दै प्राधिकरण र निगम दुबै संस्थालाई बधाई दिए ।
विगत ६३ वर्षदेखि हालसम्म निगम सामान्य कार्गो ओसारपसारमा मात्र सीमित रहेको थियो । आगामी दिनहरुमा अब निगमले खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ । निगमको ए–३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेको छ । आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले जनाएको छ ।