लन्डन । क्रिप्टोकरेन्सी विनिमय कम्पनी बिटमार्टले आफ्नो १५ करोड अमेरिकी डलरबराबरको टोकन ह्याकरले चोरेको बताएको छ ।
बीबीसीका अनुसार आफ्नो ‘हट वालेट्स’बाट ती टोकनहरु ह्याकरले लगेका हुन् । चोरिएका एथेरियम र बाइनान्स स्मार्ट चेन टोकनहरु बिटमार्टका धेरैमध्ये सानो प्रतिशतमात्रै रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार बाँकी सबै बिटमार्ट वालेटहरु सुरक्षित रहेका छन् ।
तर यो ह्याकिङमा २० करोड डलरबराबरको सम्पत्ति चोरी भएको हुनसक्ने बताइएको छ । बिटमार्टले अर्को सूचना नभएसम्मका लागि प्रयोगकर्तालाई भर्चुअल मुद्राको टोकन निकाल्न बन्द गरेको छ ।
के कसरी ह्याकिङ भएको हो पत्ता लगाउन सेवा बन्द गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सुरक्षा समीक्षा पनि गरिरहेको जनाएको छ । यसबारे थप जानकारी अपडेट गर्ने कम्पनीको भनाइ छ । यसबारे पारदर्शिता सार्वजनिक गर्ने कम्पनीको भनाइ छ । धेरै लगानीकर्ताले ठूलो परिमाणमा क्रिप्टोकरेन्सीहरु ‘कोल्ड’ स्टोरहरुमा लगेको बताइएको छ । जुन ठूलो इन्टरनेट सञ्जालबाट टाढा हुन्छ ।
एमटी गोक्सले विश्वकै ठूलो बिटक्वाइनको कारोबार व्यवस्थापन गर्दै आएको थियो । तर जब साढे आठ लाख बिटक्वाइनहरु हराए यो कम्पनी नै बन्द भएको थियो । त्यसयता क्रिप्टो एक्सचेन्ज र लगानीकर्ताका लागि साइबर आक्रमण प्रमुख समस्या बन्दै आएको छ ।