नयाँ दिल्ली । भारतको सेवा क्षेत्रमा नोभेम्बर महिनामा तीव्र दरले गतिविधि बढेको देखिएको छ । खासगरी घरेलु मागमा आएको सुधारले यसो भए पनि मूल्यमाथिको दबाबले भने ध्यान खिचिरहेको छ ।
एसियाको तेस्रो ठूलो अर्थतन्त्र तेस्रो त्रैमासिकमा द्रुतगतिमा विस्तार भइरहँदा सेवा क्षेत्रको गतिविधिले पनि तीव्रता पाएको देखिएको हो । खासगरी कोरोना भाइरसविरुद्धको आक्रामक खोप अभियान र सरकारी खर्च बलियो अवस्था रहेकाले पनि यसलाई मद्दत मिलेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा भारतीय अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको रोयटर्सले जनाएको छ ।
यो त्रैमासिकका पहिला दुई महिनामा आर्थिक वृद्धि उत्साहजनक पाइएको छ । आईएचएस मार्किटले तर्जुमा गर्ने द सर्भिसेज पर्चेसिङ मेनेजर्स इन्डेक्स नोभेम्बरमा ५८.१ विन्दुमा पुगेको छ । यस्तो अंक अक्टोबरमा ५८.४ रहेको थियो । तर गत महिनाको अंक दशकयताकै दोस्रो राम्रो नतिजा भएको बताइएको छ । त्यस्तै यो ५० अंक माथि भएको लगातार चौथो महिना भएको छ ।