काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले माघ १२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म आयोगमा दर्ता गर्नुपर्ने गरी मिति तोकिएको छ । यस्तै पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ ।
साथै सोही प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आप्mनो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।
यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदानकेन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।