काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन सहयोगस्वरूप प्रदान गरेको छ । बैंकका अनुसार सहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ काकार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरू गणेश टोल विकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यवाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफैँ राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड, डलर कार्ड जारी गरिसकेको छ ।