काठमाडौं । नबिल बैंकले आधिकारिक रूपमा ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजी बैंक पोर्टल’ मार्फत बैंकका ग्राहकहरूले एकद्वारमार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल डिजी बैंक पोर्टलको सुरुवात गरेका छन् । कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रूपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धिमध्ये नबिल डिजी बैंक पनि एक हो । बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज नबिल डिजी बैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।
नबिल डिजी बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अन बोर्डिङ र रिटेल, एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भी केवाईसी) र भर्चुअल आई कार्डलगायतका थप दुई नयाँ अनलाइन सेवाहरू समेत सार्वजनिक गरेका छन् ।
भी केवाईसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेस गर्ने दुई विकल्प उपलब्ध भएको छ । भी केवाईसी छनोटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्वनिर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, नबिल भर्चुअल आई कार्ड नबिल स्मार्ट बंैक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आई कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ ।
भर्चुअल आई कार्ड (भारतीय रुपैयाँबाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजी बैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेललगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए ।