विराटनगर । ओमिक्रोन भाइरसको महामारी आउँदै छ भन्ने विश्व स्वास्थ्य संगठनको चेतावनीपछि अहिले फेरि मास्क उत्पादन गर्दै आएका व्यवसायीको मनोपोली बढ्दै गएको छ । २०७६ साल चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा गर्ई सबै क्षेत्रमा तहसनहस बनाएको अवस्थामा पनि केही ठूला घरानाका व्यापारीदेखि नेता र मेडिकल, अस्पतालहरूका लागि त्यो समय अवसरका रूपमा आएको थियो । अहिले फेरि आएको ओमिक्रोन भाइरसको माहामारी चल्ने हल्लाले मास्कमा कालोबजारी सुरु भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीका अनुसार प्रतिगोटा १५ रुपैयाँ पर्ने एन–९५ मास्क पछिल्लो हल्लासँगै सात सयदेखि एक हजार रुपैयाँसम्ममा व्यापारीले बिक्री गर्न सुरु गरेका छन् । उनका अनुसार यसको औसत नाफा निकाल्दा करिब पाँच हजार प्रतिशतसम्म हुने दाबी उनको थियो । त्यस्तै अन्य मास्कहरू पनि ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म बिक्री गर्न थालिएको छ । यसको पनि औसत नाफा चार हजार प्रतिशतभन्दा बढी हुने उनको दाबी रहेको छ । यसरी ओमिक्रोन भाइरसको हल्लासँगै पछिल्लो समय मास्कसँगै हरेक मेडिकल सामग्रीमा समेत अहिलेदेखि नै कालोबजारी सुरु भएको दाबी गर्न थालिएको छ । कोरोना महामारी रोकथामतिर उन्मुख भएको वर्तमान समयमा पनि ओमिक्रोन माहामारीको बहानामा उद्योगी तथा व्यवसायीबाट अनिवार्य प्रयोगको वस्तु बन्दै गएको मास्कमा अहिले फेरि पुरानै अभ्यासअनुसार नै मास्क बिक्रीवितरण भएको दाबी ती उद्योगीको छ ।
मास्क व्यापारीहरूले सामान्यतया पेपर मास्कको बिक्री मूल्य १० रुपैयाँ तोकेका छन् । प्रतिगोटा एक रुपैयाँ दुई पैसामा किनेको तारविनाको मास्क आठ सय ३३ दशमलव ३४ प्रतिशत नाफामा अहिले पनि बेचिने गरेको दाबी व्यवसायीको छ । त्यस्तै सामान्य खालको तार भएको एउटा मात्र पत्र भएको मास्कको एक रुपैयाँ आठ पैसा मात्र पर्ने दाबी उद्योगीको छ । तर यसलाई बेच्दा पाँच सय ५५ दशमलव ५६ प्रतिशत र बक्समा आउने खालको तीन पत्रवाला मास्क एक रुपैयाँ नौ पैसा पर्ने भनाइ उद्योगीको छ । तर मास्क उत्पादन गर्ने उद्योगी र व्यवसायीले अहिले उक्त मास्कलाई पाँच सय २६ प्रतिशतसम्म नाफा खाएर बेचिरहेको दाबी अहिले गर्न थालिएको छ । उद्योगीले दिएको जानकारीअनुसार यी मास्क ५० वटाका बन्डलहरूमा पाइने गर्दछ र एन–९५ मास्क १३ देखि १५ रुपैयाँ पर्छ । तर त्यस्ता मास्क अहिले पनि बजारमा ३० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बेच्न सुरु गरिएको छ ।
मास्कको प्रयोग गर्दा कोरोना महामारीको जोखिम कम हुनुका साथै धुलो, धुवाँ तथा हावाबाट सर्ने रोगहरूबाट पनि बच्न सकिने हुँदा मास्क लगाउँदा सुरक्षित छु भन्ने महसूस सर्वसाधरणमा हुनेगरेको छ । बजारमा यति अचाक्ली हुँदा पनि सरकार यस्ता किसिमका कालोबजारीहरूसँग मिल्दै आफ्ना पार्टी र कार्यकर्ता पाल्ने मौका हो भन्ने बुझेर चुपचाप रहेको दाबी गर्न थालिएको छ । यसरी दिनदहाडै उपभोक्ताहरू ठगिइरहँदा किन मौन बस्छ सरकार ? अन्य सरोकारवालाहरू किन मौन छन् ? सरकारले श्रेणी छुट्याएर किन मूल्य निर्धारण गर्न सकिरहेको छैन ? भन्ने गहन प्रश्न उब्जन पुगेको छ ।