काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले शनिबार पोखरामा आफ्नो १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरूसहित आव ०७७/०७८ को मुनाफाबाट सेयरधनीहरूलाई १८ दशमलव ५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांशमध्ये १७ दशमलव ५७ प्रतिशत बोनस सेयर रहनेछ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनउपर सेयरधनीहरूबाट सल्लाह सुझाव र जिज्ञासाहरू आएका थिए । सेयरधनीहरूबाट आएका जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्ड कल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।