काठमाडौं । कालोधनलाई वैधानिक बनाउनुपर्ने भन्दै लबिङ्ग गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा सोमबार भने सेयरबजारप्रति केही नरम देखिएका छन् । आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले शनिबार एक कार्यक्रममा सेयरबजारलाई साम्राज्यवादको विकसित रुप भनेपछि माओवादीविरुद्ध नै ‘नो भोट’ अभियान चल्न थालेपछि त्यसलाई केही सम्हाल्न अर्थमन्त्री शर्माले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पुँजीबजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताउन बाध्य भए ।
शनिबार प्रचण्डले भने सेयरबजारमा लगानी गर्न नै नहुने र पुँजीमा पुँजी लगानी गर्नु साम्राज्यवादको विकसित रुप भएको भन्दै सेयरबजारमा लगानी बढेपछि उद्योग/कलकारखाना स्थापना हुन छाड्ने र भएका उद्योग/कलकारखाना पनि बन्द भएर मजदुरको बिचल्ली हुने बताएका थिए । प्रचण्डको उक्त भनाइपछि आइतबार र सोमबार नेपालको सेयरबजारमा ठूलो धक्का लागेको छ । २०६२/०६३ को जनआन्दोलनपछि पटक–पटक अर्थ मन्त्रालय सम्हालेको माओवादीले सेयरबजारमा हुने लगानीविरुद्ध अभियान नै चलाउन थालेपछि सेयरबजारमा लगानी गरेकाहरुले माओवादीविरुद्ध ‘नो भोट अभियान’ सुरु गरेका छन् ।
सेयरबजारमा गरेको लगानीलाई संरक्षण गर्नुपर्ने गरी कामहरु अगाडि बढाउन माग गरिरहेका बेला माओवादी बेला–बेलामा सेयरबजारप्रति अनुदार बन्दै आएको छ । माओवादीको अनुदार नीतिको कारण सेयरबजार ध्वस्त हुनलागेको भन्दै लगानीकर्ताहरुले माओवादीविरुद्ध अभियान थालेका हुन् । सेयरबजारमा अहिले ४० लाखभन्दा बढी व्यक्ति आबद्ध भएका छन् । ठूलो जमात आफूविरुद्ध लाग्ने देखेपछि अर्थमन्त्री शर्माले सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सरकार सेयरबजारमा भएको लगानी संरक्षण गर्न प्रतिबद्ध रहेको भन्दै सेयरबजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने जिकिर गर्न पुगे ।
अर्थमन्त्री शर्माले सेयरबजार घटबढ हुनुमा नियमनकारी निकायलाई मात्र थाहा हुने भन्दै मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको जिकिर गरेका थिए । उनले मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको भन्दै सेयरबजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत बताएका थिए ।
लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माको दाबी छ । यसमा लगानीकर्तालाई ढुक्क हुन समेत मन्त्री शर्माले आग्रह गरेका थिए । अर्थमन्त्री शर्मा मात्र नभई माओवादी नेतृत्व कालोधनलाई सेतो बनाउने अभियानमा छन् । त्यसको लागि माओवादीले बारम्बार प्रयास गरिरहेको छ । बजेट भाषणपछि पनि माओवादी त्यही कालोधनलाई सेतो बनाउनुपर्छ भन्ने अभियानमा लागेपछि त्यसको आलोचना भएको थियो ।
अहिले सेयर बजारलाई घटाएर कालोधनको केही निश्चित प्रतिशत सेयर बजारमा लगाउन दिने योजना माओवादीले बनाएको छ । कालोधनलाई लगानी गर्न सकियो भने धेरै लाभ लिन सकिने माओवादी योजना छ । तर, कालोधनलाई सजिलै सेतो बनाउन अन्तर्राष्ट्रिय संघ/संस्थाले नदिने भएको कारण माओवादी नेतृत्व विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकविरुद्ध संगठित रुपमा लागेको छ । त्यही मेसोमा प्रचण्डले सेयरबजारविरुद्ध पनि बोलेका हुन् ।