काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएको छ । सोमबार महासंघको सचिवालयमा भएको भेटमा उक्त छलफल भएको हो ।
भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन बाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिए । यो दुुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुुनौतीको सामना गर्नु परेको उनको भनाइ थियो । सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको स्पष्ट पार्दै उनले अझै खतरा भने टरी नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए । यसका लागि महासंघले अर्थतन्त्रको मुुख्य आधारशिलाका रुपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुुनरूत्थानमा जोड दिएको उल्लेख गरे । यस्तै उनले महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं आन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तबेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।
नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि उनले आग्रह गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै उनले बाह्य लगानीका लागि सरकारीअनुकूल नीति र बाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गरे । भौगोलिक अवस्था र युवाहरूले भरिएको मुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि उनले स्पष्ट पारे । अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्यहरू हुनेमा महासंघ विश्वस्त रहेको र राजदूतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताए ।
राजदूत जिल बुर्बाओले महासंघले अगाडि सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘हामी धेरै क्षेत्रमा छरिनुभन्दा पनि ठोस र परिणामदायी रूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौँ, सफलता हासिल हुनसक्छ’, उनले भने, ‘नवीकरणीय ऊर्जा, कृषिको उत्पादकत्व वृद्धि, पर्यटन, विद्युतीय सवारीसाधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौँ ।’ साथै उनले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमहरूका सम्बन्धमा स्मरण समेत गरेका थिए । भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूतावासका चार्ज डी मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।