महेन्द्र शाही
सोलुखुम्बु, माघ २०
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले सुरु गरेको पाठेघरको मुखको क्यान्सरको पहिचान गर्न १० जना मात्रै सेवाग्राही आएका छन् । गत पुस २२ गतेबाट अस्पतालले सुरु गरको निःशुल्क सेवाबाट १० जनाले मात्र सेवा लिएका हुन् । हप्ताको २ दिन मगंलबार र बुधबार अस्पतालले सेवा प्रदान गर्दै आएको छ । क्यान्सर पहिचान तथा जाँच सेवालगायतका पहिचान सेवा प्रदान गरिने गरिएको भए पनि सेवाग्राही भने न्यून मात्रामा मात्रै आउने गरेको अस्पतालकी सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।
पाठेघरको जाचँका लागि महिलाहरू टाढा जानुपर्ने भएकाले जिल्लामा नै पाठेघरको मुखको क्यान्सरको जाचँ गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । आर्थिक स्थिति कमजोर भएका महिलाहरूमा रोग पालेर बस्ने अवस्था भएकाले अस्पतालले निःशुल्क सेवा सुचारु गरेको निमित्त प्रमुख शेर्पाको भनाइ छ । हाल अस्पतालमा क्यान्सरको जाँच मात्र गरिने गरिएको उनले बताइन । प्रदेश सरकारले थप उपकरण पठाउने तयारी गरिरहेकाले उपकरण प्राप्त भएपश्चात् उपचार सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । महिलामा अझै पनि चेतनाको अभाव भएकाले न्यून मात्रामा सेवाग्राही आएको हुनसक्ने शेर्पाको भनाइ छ ।