ढाका । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बंगलादेशमा लगानी प्रस्ताव ह्वात्तै बढेको छ । उक्त अवधिमा ४६ प्रतिशतले लगानी प्रस्ताव बढेको डेलि स्टार अनलाइनले जनाएको छ ।
कोरोना महामारीका बाबजुद आन्तरिक र बाह्य दुवै प्रस्ताव बढेको बंगलादेश इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटी (बिदा)ले जनाएको छ । यो अवधिमा दुई खर्ब चार अर्ब ६४ करोड टाकाको प्रस्ताव दर्ता भइसकेको बिदाले जनाएको छ । गत वर्ष जुलाई–सेप्टेम्बर अवधिमा एक खर्ब ३९ अर्ब ६४ करोडको प्रस्ताव दर्ता भएको थियो । यदि यी प्रस्ताव कार्यान्वयन भए २९ हजार नयाँ रोजगारी सिर्जना हुनेछन् ।
यी प्रस्तावहरु एक सय ८९ वटा उद्योगहरुबाट आएका हुन् । यसमध्ये एक सय ७७ स्थानीय उद्योगहरु हुन् । यसमध्ये सातवटा पूर्ण विदेशी कम्पनी रहेका छन् भने पाँचवटाले विदेशीसँग संयुक्त उपक्रममा काम गर्नेछन् ।