काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यापक भ्रष्टाचार भएको पाइएको छ । काठमाडौं महानगरभित्र ट्राफिक जाम हटाउने, मोनोरेल सञ्चालन गर्ने र काठमाडौं महानगरमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सबल सफल महानगर बनाउने भन्दै नारा फुकेर चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेतृत्व गरेको महानगर नै भ्रष्टाचारमा डुबेको छ ।
काठमाडौं महानगरपालिकाले महानगरको वडा नं. १२ टेकुमा बनाउन लागेको भवनमा महानगरकै पाँच कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा गलत लिखत तयार गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी भ्रष्टाचार गरेको बताएको छ । आयोगका अनुसार महानगरपलिकाका निर्देशक भैरव बहादुर बोगटीसँगै खरिद इकाइ प्रमुख उपनिर्देशक बखत बहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीमाथि गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको पुष्टि भएपछि आरोपपत्र दायर
भएको हो ।
महानगरपालिकाको भवन निर्माणको लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वानबमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि आयोगले सो सम्बन्धमा अनुसन्धान गर्दै आएको थियो ।
महानगरपालिका यसअघि पनि विभिन्न भ्रष्टाचारको काण्डमा फस्दै आएको थियो । कर्मचारीहरु भ्रष्टाचारमा फसे पनि महानगर सुधार्छु भन्दै आएका महानगरपालिकाका मेयर शाक्य भने चुपचाप बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आयोगले भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम विशेष अदालत मुद्दा दर्ता गरेको छ ।