काठमाडौं । मुलुकको वैदेशिक व्यापार कमजोर देखिएको छ । पछिल्लो समय मुलुकको निर्यात बढेको भए पनि आयात उच्च हुँदा व्यापारघाटा बढेको छ । सोही आधारमा पनि मुलुकको वैदेशिक व्यापार कमजोर देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चार महिनाको प्रतिवेदनअनुसार कुल वस्तु निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तर यस अवधिमा कुल वस्तु आयात पनि ६१ दशमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । सोही आधारमा चालू आवको पछिल्लो चार महिनामा मुलुकको कुल वैदेशिक व्यापारघाटा ५६ दशमलव आठ प्रतिशतले बढेर छ खर्ब ६८ अर्ब १७ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव आठ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४० दशमलव दुई प्रतिशत, सात दशमलव तीन प्रतिशत र २३ दशमलव पाँच प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढे पनि चिया, अलैँची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात भने १० दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दशमलव एक प्रतिशत, ५६ दशमलव नौ प्रतिशत र एक सय १७ दशमलव दुई प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, चाँदीलगायतका वस्तुको आयात बढे पनि सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात बढेको भएको छ ।
विदेशी मुद्रा सञ्चितिमा ११ प्रतिशतले गिरावट
विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १० दशमलव नौ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई ११ खर्ब सात अर्ब ४७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ । २०७८ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६ दशमलव एक प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना नौ दिनको वस्तु आयात र सात महिना दुई दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९ दशमलव दुई प्रतिशत, ६० प्रतिशत र २३ दशमलव आठ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेका थिए ।
खुद सेवा आय ३१ अर्ब २० करोडले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चार महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ३१ अर्ब २० करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५१ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय २३ दशमलव पाँच प्रतिशतले वृद्धि भई छ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक अर्ब ८९ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय ३७ दशमलव दुई प्रतिशतले वृद्धि भई १९ अर्ब १५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १० अर्ब ७० करोड रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय आठ अर्ब सात करोड रहेकोमा शिक्षातर्फको व्यय छ अर्ब ८५ करोेड रहेको थियो ।
चालू खाता दुई खर्ब २३ अर्बले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा चालू खाता दुई खर्ब २३ अर्ब १९ करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १९ अर्ब एक करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ८८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९ दशमलव तीन प्रतिशतले कमी आई दुई अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि भई छ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ७५ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति भने एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चार महिनामा भित्रियो तीन खर्ब १२ अर्ब रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्स अर्थात् विप्रेषण आप्रवाह सात दशमलव पाँच प्रतिशतले कमी आई तीन खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव आठ प्रतिशतले कमी आई दुई अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार तीन सय ८२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव सात प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ४९ दशमलव एक प्रतिशतले वृद्धि भई ५९ हजार सात सय २३ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव नौ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर सात दशमलव चार प्रतिशतले कमी आई तीन खर्ब ४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले बढेको थियो ।