काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिकरूपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरूका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । उल्लिखित उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभरि कुल ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग गरेको छ ।
कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक सञ्जेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरू तथा अन्य कर्मचारीहरूको उपस्थितिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीका व्यवस्थापन समूहका सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।
गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरूका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाइजर तथा हात धुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरू वितरण गरेका थिए ।