काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग सेटिङ गर्न दुवई पुगेको खुलेको छ । परिषद्को कार्यालयबाट भारतको गोवा घुम्न जाने भन्दै निस्केका सदस्यसचिव काफ्ले केही कलेज सञ्चालकहरुसहित सीमित व्यक्तिका साथ युनेस्कोको सभामा भाग लिन फ्रान्स पुगेका मन्त्री पौडेलसँग सेटिङ गर्न दुवई पुगेको खुलेको हो ।
उच्च स्रोतका अनुसार काफ्लेसहितको टोलीले नर्सिङ कलेजको भर्नाको विषयमा कुरा गर्न दुवई पुगेका हुन् । सीटीईभीटीका अध्यक्ष समेत रहेका मन्त्री पौडेलसँग दुवईमा भेटघाट गर्न नपाए पनि उतैबाट कुराकानी गरेको स्रोतको भनाइ छ । मन्त्रीसँग दुवईमा कुरा हुन नपाएपछि काफ्लेसहितको टोली दुवईबाट फर्किएको थियो ।
आफूलाई फाइदा हेर्दै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गरेका काफ्ले पछिल्लो समय पूर्वप्रधनमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लसँग नजिक भएका छन् ।
स्रोतका अनुसार काफ्लेले मन्त्रीलाई समेत प्रचण्डको स्वकिय सचिवको आडमा धम्की दिएरै भए पनि नर्सिङ भर्नामा आफूअनुकूलका कलेजलाई मात्र दिन बाध्य पार्ने गरेका छन् । मन्त्रीसँग नमिलेका कुराहरु समेत सदस्य सचिव काफ्लेले प्रचण्डसँग मिलाउने भन्दै हिँड्ने गरेको स्रोतको दाबी छ ।
सदस्यसचिव काफ्ले पछिल्लो समय पीसीएल नसर््िाङ भर्ना नपाएर हजारौँ विद्यार्थीको बिचल्ली भएको अवस्थामा आफूअनुकूलका कलेजहरुलाई मात्र भर्ना गर्न दिई अन्य कलेजहरुसँग लगातार बार्गेनिङ गर्नमा नै व्यस्त रहेको स्रोतको दाबी छ । परिषद्का कर्मचारी खेम पोखरेलको सल्लाहमा आर्थिक लगायत अन्य सेटिङ गर्ने गरेका सदस्यसचिव काफ्ले मन्त्री पौडेलले नयाँ विषय थप, भर्नालगायत सबै विषयमा जानकारी दिएर मात्र अघि बढ्न आग्रह गर्दासमेत कमाउ धन्दामा नै व्यस्त रहेकोले मन्त्रीलाई समेत विवादमा ल्याउन थालेका छन् ।
स्रोतका अनुसार सदस्यसचिव काफ्लेको पछिल्लो गतिविधिका कारणले कर्मचारीहरु समेत दिक्क भएका छन् । यतिसम्म कि सदस्यसचिव काफ्लेको चक्रव्युहमा मन्त्री पौडेलसम्म फसेको भन्दै संस्थाको बदनाम हुन नदिन आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।
आफूअनुकूलका सेटिङ मिलेका कलेजहरुलाई भर्ना गर्न दिने र अरुलाई बाइपास गर्ने नीतिको विषयमा सदस्यसचिव काफ्लेले आफू यस्तो धन्दामा नलागेको बताए । आर्थिक दैनिकसँग कुरा गर्दै काफ्लेले आफ्नो चरित्रहत्या गर्न विकृत मानसिकता भएका अपराधीहरु पछि लागेको भन्दै तिनको कुराहरुमा विश्वास नगर्न आग्रह गरे । आफू मन्त्रीसँग भेट्न दुबई गएको नभई विशेष कामले माल्दिभ्स गएको समेत बताए । पछिल्लो समय सीटीईभीटीका सदस्यसचिव काफ्लेले बार्गेनिङ गर्ने गरेको विषयमा अख्तियारले समेत विशेष चासोका साथ हेरिरहेको छ ।