काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले आगामी असार मसान्तसम्ममा कर्जा निक्षेप अनुपात कायम गरिसक्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘कर्जा–निक्षेप अनुपात तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नुपर्नेछ ।’ यसका लागि तोकिएको कर्जा निक्षेप अनुपातको अनुपालनाको लागि मासिकरुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा यो अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन समेत गर्नुपर्नेछ ।
परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्यांकन गराउँदा मूल्यांकनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्यांकन गरेको एकीन गर्नुपर्नेछ । यसैगरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मुल्यांकनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्टरुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने राष्ट्र बैैंकले जनाएको छ ।