काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि कोभिडविरुद्धको खोप सहयोग गर्न संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठसँग आईओएमका मिसनप्रमुख लोरेना ल्यान्डोले बिहीबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले कोभिडविरुद्धको खोप उपलब्ध गराउन आईओएमलाई आग्रह गरेका हुन् । भेटमा आप्रवासी नेपाली कामदारको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारेमा समेत समीक्षा भएको थियो ।
मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आईओएम नेपालले पु-याएको योगदानप्रति आभार व्यक्त गरेका थिए । वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरूले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आईओएमले सहयोग गरेको चर्चा गर्दै उनले पाँचवर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न मन्त्रालय र आईओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले मन्त्रालय र आईओएम नेपालबीच आगामी पाँचवर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरेका छन् ।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने राज्यको नीति रहेको उनले बताए । साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आन्तरिकीकरण गर्दै लगिने उल्लेख रहेको जानकारी दिए ।