काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्यमान विधान संशोधनको तयारी थालेको छ । महासंघको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले विद्यान संशोधनको लागि विधान संशोधन समिति गठन गरेको थियो । उक्त समितिले बिहीबार एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छालाई विधान संशोधनको मस्यौदा पेश गरेको छ ।
महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्वअध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरिएको हो । समितिले यसबीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको जनाएको छ । कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका बारेमा जानकारी गराएका थिए ।
यस्तै महासंघका अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मस्यौदा निर्माणको लागि समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्वउपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समिति सदस्य डीबी बस्नेत, पूर्वकार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिल गोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्वअध्यक्ष सरोज श्रेष्ठ, समितिका कानुनविज्ञ डा. रूद्र शर्माको उपस्थिति थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थिति थियो ।