काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । संस्थाका अनुसार यस्तो कार्यका लागि संस्थाले डिजिटल ऐज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल ऐजका प्रबन्ध निर्देशक दिव्यश्वरी दलीले हस्ताक्षर गरेका छन् ।
एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो संस्थाले देशका सातवटै प्रदेशअन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरूमा एक सय ४८ वटा शाखा तथा उपशाखा कार्यालयहरू सञ्चालन गरी करिब एक लाख १९ हजार विपन्न घरपरिवारका सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यसैगरी सूचना प्रविधिको क्षेत्रमा काम गर्ने एक अग्रिणी संस्थाको रूपमा रहेको डिजिटल ऐज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायतका प्रोगाम, एप्लिकेसन, सफ्टवेयरहरू सबैजसो बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग भइरहेको जानकारी पनि संस्थाले दिएको छ । केवाईसी म्यानेजमेन्ट सिस्टम लागू भएपश्चात् वित्तीय संस्थामा आबद्ध ग्राहकहरूको व्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकहरूले अनलाइनबाट खाता खोल्नसक्ने सुविधा समेत रहेको बताइएको छ । (आर्थिक दैनिकबाट)