काठमाडौँ । नेपाल बैंक लिमिटेडले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकै साथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजारभन्दा बढी बिद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट प्राप्त जिज्ञासाहरूलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरूले प्रस्ट पारेका थिए ।
रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणी बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरूमा सम्बन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवा सुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिएका थिए ।
अनवरत विश्वासको ८५औँ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रूपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका दुई सय १३ शाखाहरू एक सय ५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पु-याइरहेको छ । (आर्थिक दैनिकबाट)