काठमाडौँ । ग्लोबल आईएमई लघुवित्तको नवौँ साधारणसभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए भने उपस्थित सम्पूर्णहरूलाई सञ्चालक रूपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै वित्तीय संस्थाको नवौँ साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र करपछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ । सभामा वित्तीय संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए ।
वित्तीय संस्थाले हाल ५४ जिल्लाका एक सय १८ वटा शाखा कार्यालयहरूमार्फत एक लाख ३७ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दैै करिब दुई अर्ब ४५ करोड बचत संकलन गरी करिब सात अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरूमा समेत आफ्ना सेवाहरू विस्तार गर्ने लक्ष्य लिएको छ ।