काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकमा १६ करोड रुपैयाँबराबरको रकम अपचलन भएको घटनामा उक्त प्रकरणसँग जोडिएका रमेश कुमार श्रेष्ठले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको स्रोतले बताएको छ । ‘नेपाल राष्ट्र बैंकले उक्त प्रकरणमा जोडिएको सेञ्चुरी कमर्सियल बैंकको तत्कालीन व्यवस्थापन समूहका व्यक्तिहरूमध्ये रमेश कुमार श्रेष्ठ र जीवन कुमार भट्टराईबाट अपचलन भएको भनिएको रकम उठाउन निर्देशन दिएको र उक्त निर्देशनसँगै श्रेष्ठले आफ्नो सम्पत्ति बचाउन श्रीमतीसँग सम्बन्धविच्छेद गरेका हुन्’, स्रोतले भनेको छ ।
बैंकनिकट स्रोतका अनुसार सेञ्चुरी कमर्सियल बैंकमा यो समस्या आएपछि श्रेष्ठले आफ्नो प्रोपर्टी बचाउन उनकी पत्नी नबिना श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका हुन् । उक्त घटनासँग सम्बन्धित व्यक्तिसँग श्रेष्ठको आक्कझुक्कलरुपमा सम्पर्क हुने गरेको दाबी पनि स्रोतले गरेको छ । तर रकम अपचलनसम्बन्धी कुरा निकाल्दा र राष्ट्र बैंकले रकम तिर भनेर पत्र काटेको बारेमा कुुरा गर्दा श्रेष्ठले आफ्नो नाउँमा केही पनि सम्पत्ति नरहेको र अब सम्बन्धित निकायले दोषी करार गरे आफू सिधै जेल जाने बताउने गरेको दाबी पनि स्रोतले गरेको छ । सो विषयमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन व्यवस्थापन प्रमुख भट्टराईले भने पदमा बहाल नै रहेको अवस्थामा उक्त घटनामा अनुजमणि तिमिल्सिनालाई फसाउने षड्यन्त्र गरेको दाबी पनि स्रोतले गरेको छ । ‘तिमिल्सिनासँग जति पनि पैसा रहेको र आफू फस्ने र कारबाहीमा पर्ने भएपछि तिमिल्सिनाले उक्त अपचलन भएको भनिएको रकम तिरिहाल्छन्, तपाईंलाई तपाईंको पैसा फिर्ता आए भएन भनेर प्रलोभन देखाएका थिए’, स्रोतले भनेको छ । आफ्नो पैसा फिर्ता आउनुु राम्रो कुरा हो, तर पैसा आउँछ भन्दैमा निर्दोषलाई फसाएर रकम लिन आफ्नो आत्माले नदिने भन्दै भट्टराईको उक्त प्रस्ताव अस्वीकार गरेको दाबी पनि स्रोतले गरेको छ ।
यस्तो थियो रकम अपचलनको घटना : सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटबीच रेमिट्यान्स कारोबारको लागि आधिकारिक सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम दुवै कम्पनीहरूले रेमिट्यान्स कारोबार गर्दै आएका थिए । पछि सेञ्चुरीले हङकङमा रहेको ग्यालेक्सी रेमिट्यान्स कम्पनीलाई चिनाएको थियो । स्रोतका अनुसार ग्यालेक्सी रेमिट्यान्स सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराई र रमेश कुमार श्रेष्ठको संलग्नता खुुलेको कम्पनी हो । यी दुई व्यक्तिहरू सेञ्चुरीकै तत्कालीन प्रमुख कार्यकारी र सञ्चालक हुन् । सेञ्चुरी कमर्सियल बैंकले आधिकारिकरुपमा नै एमएण्डएम रेमिटसँगको कारोबार गर्दै आएको थियो । सोहीअनुरुप कारोबार गर्दै जाँँदा एमएण्डएम रेमिटले हङकङको ग्यालेक्सी रेमिटसँग १६ करोड रुपैयाँ लिनुुपर्ने देखियो भने एमएण्डएम रेमिटले सेञ्चुरी कमर्सियल बैंकलाई छ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने देखियो ।
सोअनुुरुप सेञ्चुरीले एमएण्डएम रेमिटलाई छ करोड रुपैयाँ तिर भनेर ताकेता ग¥यो । सोपश्चात् एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्त (जो हाल मौरिससमा नै रहेका छन्)ले एमएण्डएम रेमिटले ग्यालेक्सी रेमिटन्ससँग सेञ्चुरीले नै भनेको आधारमा कारोबार गरेको र ग्यालेक्सीसँगै उल्टै आफ्नो कम्पनीले १६ करोड रुपैयाँ लिनुपर्ने दायित्व देखिएको जवाफ पठाए । तर सेञ्चुरी कमर्सियल बैंकको वर्तमान व्यवस्थापनले भने ग्यालेक्सी र एमएण्डएम रेमिटबीचको कारोबार बैंकको पुरानो व्यवस्थापन र पुरानो सञ्चालकले गरेको र त्यो कारोबार उनीहरूको नितान्त व्यक्तिगत रहेको भन्दै त्यो समस्या समाधान गर्ने दायित्व पनि पुरानै सञ्चालक र व्यवस्थापनको भएकाले बैंकको वर्तमान सञ्चालक तथा व्यवस्थापनले उक्त कारोबारको दायित्व नबोक्ने भन्दै पन्छिँदै आएको एमएण्डएम रेमिटका अध्यक्ष पन्तले बताए । सो विषयमा रेमिटका अध्यक्ष पन्तले भने, ‘सेञ्चुरीले एमएण्डएम रेमिटसँग आधिकारिक रुपमा सम्झौता गरेपश्चात् नै कारोबार गरेको र अहिले त्यो कारोबार आफ्नो होइन भन्न कसरी पाउँछ ? बैंक, बैंक नै हो, सम्झौता सम्झौता नै हो, बैंकका आधिकारिक व्यक्तिले सम्झौता गरेपछि त्यो पुरानो व्यवस्थापनले गरेको काम हो, नयाँ व्यवस्थापनले यसको जिम्मा लिँदैन भनेर कसरी भन्न पाउँछ ? उनले प्रश्न गरेका गरेका छन् ।