काठमाडौं । हालसम्म दुई सय ३७ बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ कात्तिक मसान्तसम्ममा कुल दुई सय ३७ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ७६ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६१ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या भने यस अवधिमा एक सय २९ वटा कायम भएको छ । सो अनुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६७वटा लघुवित्तवित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले भने सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी देखिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने ११ हजारएक सय २७पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या चार हजार आठ सय ४३, विकास बैंकहरूको एक हजार ४९, फाइनान्स कम्पनीहरूको दुई सय ४४र लघुवित्तवित्तीय संस्थाहरूको चार हजार नौ सय ९१वटा शाखाहरू सञ्चालनमा छन् । यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या १० हजार छ सय ६३ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ को कात्तिकमसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरूको शाखा पुगेको छ । बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरूको शाखा पुगेको छ । कर्णाली प्रदेशमा भने७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरूमा बैंकहरूको शाखा पुगेका छन् ।
आरटीजीएस प्रणालीमा थप सात संस्था आबद्ध
रियल टाइम ग्रस सेटलमेन्ट अर्थात् आरटीजीएस प्रणालीमा थप सात संस्थाहरू आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पुस १ गते अर्थात् बिहीबारबाट सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, गुडविल फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।