काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले काठमाडौँ महानगरपालिका वडा नं १७ मा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् । दया फाउन्डेसन, अमेरिकामा रहेको नेपालीहरूको संस्था युनाइटेड नेवा, आईओएनलगायतका दर्जनभन्दा बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्टको शनिबार औपचारिक उद्घाटन गरिएको हो । उक्त अक्सिजन प्लान्ट एक करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण गरिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा मन्त्री भुसालले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । साथै उनले चिकित्सालयले सहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिइन् । मन्त्री भुसालले निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत् उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइन् । मन्त्री भुसालले यही मंसिर १ गतेदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत् खपत गर्दैनन्, उनीहरूलाई विद्युत् निःशुल्क उपलब्ध गराइएको जनाउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रस्ट पारिन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा १७ का अध्यक्ष नविन मानन्धरले अस्पतालले २०७२ सालको भूकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए । चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधै अस्पतालको बेडहरूमा पुग्ने अक्सिजन प्लान्ट निर्माणसम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिन्डरमा भर्ने व्यवस्था हुने बताए । कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले सबै दाताहरूको सामूहिक भावनाको कारण अक्सिजन प्लान्ट जडान गर्न सम्भव भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनका लागि समेत अक्सिजनको अभाव नहुने गरी व्यवस्थापन गरिएको बताए ।
कार्यक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयले यही पुस १ गतेबाट शनिबारका दिनमा समेत ओपीडी सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रिया समेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवा समेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाको लागि युनाइटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लवले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो बनस्थलीले पाँच लाख रूपैयाँ सहयोग गरेका थिए ।