काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको हो ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् । बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमांकको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रूपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्नेछ । यसरी यस बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ । आफ्नो आयस्रोतअनुसार ५० हजार रूपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुस्ट बीमांक र बोनस प्राप्त हुनेछ ।
यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने कम्पनीको भनाइ छ । मुनाफामा सहभागी हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ । जोखिम बहन पनि हुने र बचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।