काठमाडौं । खुकुरी रमले स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिने गरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान सञ्चालन गर्न लागेको हो । खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शक श्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबारबाट सुरु भएको हो । यस्तै, आर्बिटरीका संस्थापक वीपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने हेतूले आर्बिटरी ग्रुपले खुकुरी रमसँग सहकार्य गरेको बताए । उनका अनुसार खुकुरी रमसँग सहकार्य गरी आर्बिटरीले पप, रक, स्लो रकलगायत गीतसंगीतका विविध विधासँग सम्बन्धित कलाकारहरुसँग अनुबन्ध गरी तीन महिने अभियान सञ्चालन गर्न लागेको हो । यो अभियान गीतसंगीतको प्रवद्र्धन र देशका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुको मनोरञ्जनका लागि महत्वपूर्ण साबित हुने उनले बताए । खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेसन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएका थिए । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।