काठमाडौं । भारतमा भएको बहुचर्चित कलिङ लिटररी फेस्टिभलमा नेपालका कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दि इयर’को अवार्ड पाएको छ । यस वर्ष ‘केएलएफ पोएट्री बुक अफ दि इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो ।
वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित भएको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस वितरण गर्ने गरिन्छ । उक्त फेस्टिबल (केएलएफ) अन्तर्राष्ट्रियस्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको सहरले चिनिने भुवनेश्वरमा आयोजना गर्ने गरिन्छ । यो वर्ष भुवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिङ साहित्य महोत्सव आयोजना गरिएको थियो । स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो ।
यस फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशको रुपमा सहभागी थियो । साथै महोत्सवमा भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिङ साहित्य महोत्सव गर्ने महत्वपूर्ण सम्झौता समेत भएको छ । यस सम्बन्धमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’सँग केएलएफको एक सम्झौता भएको छ । नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रिल–मईमा आयोजना गरिने सम्झौतामा उल्लेख छ ।