काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौँको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक, काठमाडौँ बैंकिङ अफिस र साउथ वेस्टर्न स्टेट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा नेपाल बैंकका ब्राण्ड एम्बासडर महावीर पुनः प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यसैगरी विशेष अतिथिको रुपमा बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैंक काठमाडौँ बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, नेपाल बैंक मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, युवा उद्यमी सोना अमात्य, नायिका तथा मोडेल पुजा पन्तलगायतका अतिथिहरू उपस्थित रहेको उक्त कार्यक्रमको सञ्चालन कलेजका भाइस प्रिन्सिपल हरि सिंह केसीले गरेका थिए ।
करिब दुई सय विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ प्रविधिहरू, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री महाविर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ रहेको भन्दै हरेक विद्यार्थी उद्यमशील बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रिय आविष्कार केन्द्रले उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने आश्वासन पनि दिए ।
कार्यक्रमका सभापति तथा कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै विद्यार्थीहरूले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे । बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता प्रकाश कुमार अधिकारीले नेपाल बैंक र सााउथ वेस्टर्न स्टेट कलेजबीच आगामी दिनमा थप सहकार्य गरी अगाडि बढ्न सकिने विषयमा प्रस्ट पारे ।
नेपाल बैंक मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले डिजिटल बैंकिङसम्बन्धी प्रस्तुतीकरण दिएको उक्त कार्यक्रममा युवा उद्यमी सोना अमात्यले पनि आफ्नो विचार व्यक्त गरेकी थिइन् । बैंकले हाल ७२ जिल्लाका दुई सय १३ वटा शाखाहरू एक सय ५० वटा एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । (आर्थिक दैनिकबाट)