काठमाडौं । नेपाल बैंकले ६२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुुक्रबार बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँबाट र भर्चुअलमार्फत आयोजना गरिएको बैंकको वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित भएको बैंकले जानकारी दिएको छ ।
सभाले हालको चुक्ता १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँको तीन प्रतिशतका दरले हुन आउने ३७ करोड ९१ लाख दुई हजार सात सय ५८ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैयाँ रकमबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको छ । साथै, बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ रुपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउन्टेन्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारणसभामा पेस भएका अन्य प्रस्तावहरू समेत सर्वसम्मतरुपमा पारित गरेको छ । अन्त्यमा, सभाका सभापति तथा सञ्चालक समितिका अध्यक्ष अर्यालले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाहीहरू सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण सेयरधनी महानुभावहरू तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।