काठमाडौं । सरकारले बन्द गरेको यातायातको सिन्डिकेट प्रणाली सिल्क ट्रान्सपोेर्टले तातोपानी भन्सार नाकामा सुचारु गरेको छ । सरकारले सिन्डिकेट बन्द गरेको लामो समय भइसक्दा समेत कार्यान्वयन नहुँदा चीनसँगको व्यापारको मुख्य केन्द्र तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टले सिन्डिकेट लगाउँदै आफ्नो एकाधिकार कायम राखेको हो ।
राजनीतिक संरक्षणका कारण कसैले बन्द गराउन नसकेको सिल्क ट्रान्सपोर्टको सिन्डिकेटविरुद्ध भन्सारसम्म सामान बोक्ने अरु ट्रान्सपोर्ट कम्पनीहरु आन्दोलनमा उत्रिएका छन् । बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको भान्जा समेत रहेका सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पाले सरकारलाई नै चुनौती दिँदै तातोपानी भन्सार नाकामा सिन्डिकेट लादेका हुन् ।
चीनतर्फबाट आएका सामानहरु मितेरी पुलसम्म आउने र त्यहाँबाट तातोपानी भन्सारसम्मको लागि लिन नेपाली कन्टेनरहरु जाने गरेकोमा सिल्क ट्रान्सपोर्टले बाह्रबीसे नगरपालिकाका मेयर मामा शेर्पा र राजनीतिक संरक्षणको आडमा एकाधिकार जमाएपछि अन्य ट्रान्सपोर्ट कम्पनीहरु मारमा परेका छन् । अहिले मितेरी पुलदेखि तातोपानी भन्सारसम्म सिल्क ट्रान्सपोर्ट, ग्लोबल नेपाल ट्रान्सपोर्ट र रवाङ ट्रान्पोर्टले सामान बोक्ने गर्दै आएका छन् । स्रोतका अनुसार सिल्क ट्रान्सपोर्ट घाटामा काम गर्न रुचाउने कम्पनी हो ।
राजनीतिको आवरणमा जम्मा गरिएको कालोधनलाई सेतो बनाउन नेताहरुले यस कम्पनीमा लगानी गरेर घाटामा देखाई कालोधनलाई सेतो बनाउन लागिपरेको र त्यसमा बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासमेतको संरक्षणमा सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पाले काम गरिरहेको स्रोतको दाबी छ । त्यसो त लकडाउनमा समेत राजनीतिक पहुँचकै भरमा सिल्कका गाडीहरुलाई निर्बाध रुपमा छोडने गरेको भनेर चर्चा चलेको थियो । कतिपय सिल्कले बोकेको सामानहरुमा अनुसन्धान नै नगरी ल्याएको र त्यस्ता सामानहरु के थिए भन्ने समेत कसैलाई जानकारी नभएको स्रोतले दाबी गर्दै आएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका सुन तस्करीहरुको अखडाको रुपमा परिचित नाका समेत हो । चीनसँगको व्यापारको महत्वपूर्ण नाका भएकोले यस नाकालाई मर्यादित, व्यवस्थित बनाउन भन्दै गत मंसिर १२ गते प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुङ्गानाको नेतृत्वमा गएको टोलीले समेत भन्सार नाकामा जारी सिन्डिकेटको बारेमा केही नबोली फर्किएको छ ।
‘चीनबाट नेपालमा सामान ल्याउन मितेरी पुल पुग्ने ट्रान्सपोर्ट कम्पनी नै अमर्यादित कार्यमा संलग्न हुँदा नेपालको अन्तर्राष्ट्रिय छविमै आँच आउनसक्नेतर्फ ध्यान नजानु अर्को दुर्भाग्य हो’, तातोपानी भन्सार स्रोतले भन्यो, ‘भन्सार विभागको महानिर्देशक भइसकेको व्यक्ति अहिलेको बहालवाला महानिर्देशकसहित आउँदा केही सुधारका संकेत आउँछन् कि भन्ने थियो तर केही हुने संकेत आजसम्म नदेखिएपछि सिल्क ट्रान्सपोर्टको सेटिङमा उहाँहरु पनि चलेको देखिन्छ ।’
स्रोतका अनुसार सिल्ट ट्रान्सपोर्टमा नेपालका ठूला नेताहरुको लगानी रहेको र त्यसैको आडमा सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पा भन्सार नै ठप्प पार्नेसम्मको कार्य गर्न समेत पछि नपरेका हुन् । सिल्क ट्रान्सपोर्ट सञ्चालन गर्नु अघिसम्म सामान्य परिवारका शेर्पा सिल्क ट्रान्सपोर्ट सञ्चालनपछि रातारात उनको जीवनशैलीमा आमूल परिवर्तन भएको छ । उनको काठमाडौंको जोरपाटीमा २–३ रोपनी जग्गामा आलिशान घर रहेको र सो घरमा नै भूमिगत गोदाम समेत सञ्चालन गर्ने गरेका छन् । उनका परिवारका सदस्यहरु भारत तथा नेपालमा समेत अवैध सुन कारोबारीको अभियोगमा पक्राउ समेत परेको स्रोतको दाबी छ । सो सुनमा रमेश शेर्पाको समेत संलग्नता हुनसक्ने भन्दै चर्चा चले पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।