काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको शनिबार तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो ।
अब संस्थाले २०७८ आसार मसान्तको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार दुई सय ५० रुपैयाँको ३१ दशमलव शून्य पाँच प्रतिशतले हुन आउने छ करोड ३९ लाख ७२ हजार सात सय ५० बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । यस्तै सभाले २०७८ असार मसान्तको चुक्ता पुँजीको एक दशमलव ६३ प्रतिशतले हुनआउने ३३ लाख ६६ हजार नौ सय ८६ रुपैयाँ ८४ पैसा नगद लाभांश (बोनस सेयरमा लाग्ने करबापतको रकम) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष सिर्जना जोशीले आव २०७७।७८ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।
सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो । यसैगरी लेखापरीक्षण समितिबाट सिफारिस भएबमोजिम श्रेष्ठ एन्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउन्टेन्टसलाई आव २०७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
यस्तै सभाले संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने, कुनै वित्तीय संस्थाहरू एक–आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा गरिद गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी प्रचलित कानुन तथा निर्देशनहरूअनुरूप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरूबाट निर्देशन गरेबमोजिमका विवरणहरू उपलब्ध गराउनेलगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानुनको अधिनमा रही सोअनुरूप आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रयायोजन गर्ने प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको थियो ।
त्यसैगरी सभाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुनेगरी संस्थापक समूहबाट सञ्चालकमा सिर्जना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित गरेको छ । सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरूले साधारणसभामा आफ्नो राय, सुझाव पेस गरेका थिए ।