बेइजिङ । चीनको कलकारखानातर्फको उत्पादन तीव्र गतिमा बढेको छ । खासगरी नोभेम्बरमा ऊर्जा क्षेत्रको उत्पादनले निकै सहयोग गरेको बताइएको छ । तर कोरोना संक्रमण फेरि देखिनथाल्दा खुद्रा क्षेत्रलाई असर गरेको छ ।
लगानी वृद्धिदरमा समेत पछिल्ला संक्रमणले असर गरेको छ । जुन अर्थतन्त्रका लागि चिन्ताजनक मानिएको छ । ‘नोभेम्बरमा अर्थतन्त्र कमजोर नै देखियो’, पिनप्वाइन्ट एसेट मेनेजमन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, ‘घरेलु उपभोग पनि शून्य सहनशीलताको नीतिले थप कमजोर बनेको छ । यसले सेवा क्षेत्रमा असर गरेको र प्रोपर्टी सेक्टरलाई पनि सुस्त बनाएको छ ।’
नोभेम्बरमा फ्याक्ट्री प्रोडक्सन (उत्पादन) ३.८ प्रतिशतले बढेको सरकारको आधिकारिक तथ्यांकले देखाएको छ । जुन अनुमान गरिएको ३.६ प्रतिशतको तुलनामा धेरै हो । अक्टोबरमा ३.५ प्रतिशतले बढेको थियो । नोभेम्बरमा कोइला उद्योगको उत्पादनले कीर्तिमान कायम गरेको छ । बेइजिङले उत्खननकर्तालाई उत्पादन तीव्र पार्न भनेको थियो । चिनियाँ ऊर्जा क्षेत्र बढी कोइलामा निर्भर छ । जाडोयाममा ऊर्जा संकटबाट बच्न सरकारले उत्पादनलाई तीव्रता दिन भनेको हो ।
यसका बाबजुद खुद्रा बिक्री नोभेम्बर महिनाामा एक वर्षअघिको तुलनामा ३.९ प्रतिशतले बढेको छ । जुन अनुमान गरिएको ४.६ प्रतिशतभन्दा कम हो । अक्टोबरमा भने यस्तो दर ४.९ प्रतिशत थियो । यता फिक्स्ड एसेट इन्भेस्टमेन्ट ५.२ प्रतिशतले पहिलो ११ महिनामा बढेको देखिएको छ । जुन अनुमान गरिएको ५.४ प्रतिशतको तुलनामा कम हो । रोयटर्सको सर्भेक्षणले जनवरी–अक्टोबरमा ६.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।
यसैबीच, चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्यांकले देखाएको छ । देशको प्राकृतिक ग्यास उत्पादन जनवरी–नोभेम्बर अवधिमा कुल एक सय ८६ अर्ब घनमिटर भएको पुगेको छ जुन एक वर्ष अघिको तुलनामा ८.९ प्रतिशत र २०१९ को तुलनामा १९ प्रतिशतले बढेको हो । राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार नोभेम्बरमा मात्रै चीनले १७.७ बिलियन घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।
साथसाथै कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा भइरहेको पुनरुत्थान समेत सुस्त देखिएको छ । पछिल्लो समय फेरि संक्रमण देखापर्दा यसले असर गर्न सक्ने देखिएको छ ।