काठमाडौं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी तीन अर्ब ७० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले कुल तीन खर्ब ७० अर्ब १४ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले संकलन गरेको कुुल निक्षेप तथा प्रवाह गरेको कर्जा रकम भने क्रमशः ४८ खर्ब ४२ अर्ब ७० लाख र ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कायम गरेको कुल चुक्ता पुँजी भने तीन खर्ब २४ अर्ब ७३ करोड २० लाख रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४२ खर्ब ४५ अर्ब २२ करोड र ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको छ ।
चालू आवको कात्तिक मसान्तसम्ममा विकास बैंकहरुले मात्र कायम गरेको चुक्ता पुँजी ३२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा विकास बैंकहरुले चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो चार महिनाको अवधिसम्ममा १३ अर्ब सात करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । सो अवधिमा फाइनान्सहरुले कुल ९२ अर्ब ८३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या भने ६७ वटा लघुवित्त वित्तीय संस्था समेत गरी एक सय २८ वटा पुगेको छ । सोमध्ये लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार एक सय ३६ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र चार हजार आठ सय ४३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने विकास बैंकहरुको एक हजार ४९ वटा शाखाहरु सञ्चालनमा छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुको भने दुई सय ४४ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय धेरैवटा विकास बैंक तथा फाइनान्स कम्पनीहरु वाणिज्य बैंकहरुमा प्राप्ति तथा गाभिएपछि वाणिज्य बैंकहरुको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीहरुको शाखाहरु कम देखिएको हो ।