काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उनले तत्काल रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।
‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ उनले भने, ‘यसै साता निम्नमाध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’ शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिए । ‘पाँच वर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ उनले भने, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस् ।’ १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे । नियमावली संशोधन भइसकेकाले अब तीन हजार तीन सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।
छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए । ‘हामीले माविको एक हजार पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौँ,’ अध्यक्ष रेग्मीले भने, ‘यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त दुई हजार पाँच सय ९८ पदका लागि विज्ञापन गर्छौँ ।’