दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले १२ वर्षदेखि १७ वर्षसम्मका सबै बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने भएको छ । जिल्लाभरका निजी तथा सामुदायिक विद्यालयमा बुधबारदेखि कोभिड १९ विरुद्धको मोडर्नाको पहिलो मात्रा लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयले पुस ७ गतेदेखि १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्नाको खोप लगाउने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
मोडर्नाको पहिलो मात्रा कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका, गौरीशंकर गाउँपालिका र मेलुङ गाउँपालिकामा पुस ७, ८ र ९ गते पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणअन्तर्गत तामाकोशी गाउँपालिकामा ८, ९ र १० गते, बैतेश्वर गाउँपालिका, भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा पुस ९, १० र ११ गते खोप अभियान रहेको छ । त्यस्तै तेस्रो चरणअन्तर्गत जिल्लाको शैलुङ गाउँपालिकामा पुस १२, १३ र १४ गते खोप लगाइनेछ । प्रत्येक विद्यालयमा पुगेर बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।