काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । आयोगको कार्यालय, हेटौंडाको आयोजनामा राक्सिराङ गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकाभित्र कार्यरत कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा आयोग हेटौंडा कार्यालयको प्रमुख अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगतिबारे जानकारी दिएका थिए । यस्तै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता राज्यको नीतिअनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी दिए । साथै भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्नसके मात्र समग्र शासन प्रणाली संस्थागत हुने उल्लेख गरे ।
कार्यक्रममा कार्यालयका उपसचिव विष्णु सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अन्तरक्रियाले जनप्रतिनिधिहरूको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनुपर्ने बताउँदै यस गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सदाचार युक्त बनाउने अभियानमा आफूहरू लागि परेको जानकारी दिए ।