बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप सेन्स टाइम हङकङ सेयर बजारमा पुनः सूचीकृत हुने भएको छ । बीबीसीका अनुसार अमेरिकीहरुलाई कम्पनीमा लगानी गर्न नपाउने भएपछि कम्पनीले हङकङ सेयरबजारमा पुनः प्रवेशको तयारी गरेको हो ।
वासिङटनले सेन्सटाइमलाई मानिसहरुको जातीय पहिचान थाहा हुने फेसियल रिकगिनसन सफ्टवेयर विकास गरिरहेको आरोप लगाएको छ । खासगरी उइगुर समुदायका मानिसको पहिचानका लागि कम्पनीले काम गरेको अमेरिकी आरोप छ ।
उइगुर चिनियाँ मुस्लिम अल्पसंख्यक हुन् । उनीहरुमाथि चीनले श्रमशोषण गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । ३० डिसेम्बरदेखि कम्पनीको सेयर हङकङ स्टक एक्सचेन्जमा कारोबार सुरु हुनेछ । सेन्सटाइमले डेढ अर्बको प्राथमिक साधारण निष्काशनको तयारी गरेको बताइएको छ ।
यसको प्रतिकित्ता मूल्य ३.८५ हङकङ डलरदेखि ३.९९ सम्म हुने कम्पनीले जनाएको छ । मूल मूल्य भने बिहीबार सार्वजनिक हुनेछ । हङकङ सूचीकरणबारे कम्पनीको योजना गत हप्ता अमेरिकी ट्रेजरी डिपार्टमेन्टले कालोसूचीमा राखेसँगै स्थगित भएको थियो । सोमबार सेन्सटाइमले अमेरिकी आरोपको खण्डन गरेको छ । उसले सैन्य प्रयोजन तथा लक्षित समुदायमाथि आफूले सफ्टवेयर विकास गर्नलागेको कुरा झूटो भएको बताएको छ ।