डाभोस । स्विट्जरल्यान्डको डाभोसमा हुने भनिएको वर्ल्ड इकोनोमिक फोरमका व्यावसायिक र राजनीतिक नेताहरुको वार्षिक भेटघाट कार्यक्रम कोरोना नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढ्न थालेसँगै स्थगित भएको छ ।
आगामी जनवरी १७ देखि २१ तारिखसम्म उक्त कार्यक्रम हुने भनिएको थियो तर अब त्यो ‘अर्लि समर’मा हुने भएको बीबीसीले जनाएको छ । महामारीको पछिल्लो अवस्थाले प्रत्यक्ष बैठक गर्न कठिन भएको डब्लुईएफले जनाएको छ । यसको साटो सहभागीहरुले ‘स्टेट अफ द वर्ल्ड’ शृंखला अनलाइन सेसनका रुपमा गर्न सकिने उल्लेख गरेको छ ।
‘वार्षिक कार्यक्रम सर्दैमा यसले व्यवसाय, सरकार र नागरिक तहका व्यक्तिको प्रतिनिधित्वलाई अनलाइनबाट हुने काममा अवरोध गर्दैन’, फोरमका संस्थापक तथा कार्यकारी प्रमुख प्रोफेसर क्लाउन स्क्वाबले भने । उनले सार्वजनिक निजी सहकार्यले महामारीलाई पनि उछिनेर अघि बढेको र यसले निरन्तरता पाउने उनले बताए ।
गत वर्ष पनि फोरमको वार्षिक बैठक कोरोनाकै कारण डाभोसको साटो अगस्टमा सिंगापुरमा सारिएको थियो तर त्यसपछि रद्द नै गरिएको थियो । स्विट्जरल्यान्डले पनि अहिले फेरि कोभिडलाई मध्यनजर गर्दै कडाइ गरेको छ ।
ओमिक्रोन संक्रमण युरोपमा अहिले व्यापक मात्रामा फैलिन थालेको छ । यही कारण बैठक सार्नुपरेको फोरमले जनाएको छ । यो बैठक सन् १९७१ देखि गरिँदै आएको छ । विभिन्न क्षेत्रका व्यक्तित्वलाई एकै ठाउँमा भेला गरी संसारलाई राम्रो गर्ने उद्देश्यले यो बैठक गरिँदै आएको छ ।