काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा रमेश कुमार केसी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष केसी नेपाल सरकारको विभिन्न निकायमा रही महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका व्यक्ति हुन् । उनी हाल अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेको बैंकले जानकारी दिएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष शपथग्रहण गराउनुपर्ने प्रावधानअनुसार अध्यक्ष केसीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँमा गर्भनर महाप्रसाद अधिकारीले शपथग्रहण गराएका हुन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरू क्रमशः डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सञ्जिव पौडेल, डा. इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थिति थियो ।